चितवन, २४ वैशाख । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको न्यायिक समितिमा १० वटा उजुरी परेका छन् ।
गाउँपालिकामा जननिर्वाचित भई प्रतिनिधि आएको एकवर्ष बित्न लाग्दा न्यायिक समितिमा १० वटा मात्रै उजुरी परेका हुन् । उजुरीमध्ये छ वटाको छिनोफानो भइसकेको छ भने चारवटा विचाराधीन अवस्थामा रहेको गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकामा आएका उजुरी बहुविवाहका बढी रहेका छन् । उजुरीमध्ये चारवटा बहुविवाहका रहेका छन् भने अन्य साँधसीमाना मिचिएको, लेनदेनलगायतका रहेका छन् ।
न्यायिक समितिमा आएका उजुरीलाई अधिकांशलाई मेलमिलाप गराएर पठाइएको उहाँले बताउनुभयो ।
सामान्य उजुरी दैनिक रुपमा आउने गरेको भए पनि दर्ता नगरी आपसी समझदारीमा टुङ्ग्याउने गरेको श्रेष्ठले बताउनुभयो । मेलमिलापमार्फत समस्या समाधान गर्दा दुबै पक्षको विजयी भएको महशुस हुने भएकाले मेलमिलापलाई प्राथमिकता राखिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्