काठमाडौँ, २५ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य बेलायतको संसदीय टोलीबीच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको सो भेटमा उहाँले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको प्रतिनिधि संस्था भएको बताउनुभएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले लामो संक्रमणकालको अन्त्यपछि बनेको नयाँ संविधान र सोहीअनुसार निमार्ण भएका संरचना प्रतिनिधित्वमूलक र समावेशी भएको बताउँदै स्थानीय, प्रदेश र केन्द्रसम्म नै प्रतिनिधित्व समावेशी रहेको जानकारी दिनुभयो ।
समानतामुलक समाज निर्माणतर्फ देश अगाडि बढिसकेको छ, उहाँले भन्नुभयो, “स्थानीय, प्रदेशसँगै संघीय संसदमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य छ ।”
अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा ५९ मध्ये २२ जना महिला छन् भने प्रतिनिधि सभामा २७५ मध्ये ९० जना महिला सदस्य छन् भन्नुभयो ।
राष्ट्रियसभा समावेशी दृष्टिकोणले सबैभन्दा अगाडि रहेको उल्लेख गर्दै उहाँले महिला, दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्था राष्ट्रियसभा भएको जानकारी दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले दुई देशबीच बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले सम्बन्धलाई नयाँ उचाईमा पु-याउने धारणा व्यक्त गर्नुभयो ।
यसअघि संसदमा नेपाल बेलायत संसदीयमैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै उहाँले अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने जानकारी गराउनुभयो ।
बेलायती सांसद निजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धबारे छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्