काठमाडौं, २६ वैशाख– संगठनको मर्यादाविपरित सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रही सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्द फेसबुकमा जथाभावी लेखेको अभियोगमा जागिरबाट हटाइएका हुन् । संगनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरु फेसबुकमा पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई जागिरबाट निकालेको हो ।
कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले वैशाख २१ गते (शुक्रवार) प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी चन्दलाई जागिरबाट हटाइएको जानकारी गराएका छन् ।
चन्दलाई वैशाख १५ गते साँझ ६ बजेदेखि १० बजेसम्म सेती अञ्चल अस्पताल लाइनमा पिकेट डिउटीमा खटाउँदा समेत उनी डिउटीमा नगएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चन्दले भने फाँटमा बस्न पाउन पर्ने माग गर्दै प्रहरी महानिरीक्षक (आईजी)लाई निवेदन गरेको बताएका छन् ।
चन्दले केही समय अगाडि आईजीलाई निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वीरबहादुर बुढामगरले आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्