धनुषा, १३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारसँग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, प्रदेश २ कार्यसमितिसँग आज जनकपुरमा भएको भेटघाट कार्यक्रममा उहाँले पत्रकारको समस्याबारे आफूलाई जानकारी रहेकाले पत्रकारको हकहित र सुरक्षाको सवालमा गम्भीर रहेको बताउनुभयो । उहाँले पत्रकारको दक्षता अभिवृद्धि, सीप, तालीम, पत्रकारको हकहित र सुरक्षाको सवालप्रति आउने बजेटमा विशेष व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रदेश सरकार समस्या र अभावका बीच पनि जनताका लागि काम गर्न अग्रसरता लिइरहेको बताउँदै मुख्यमन्त्री राउतले कसैको प्रभावमा नपरी सकारात्मक समाचार प्रकाशन तथा प्रसारण गरिदिन आग्रह गर्नुभयो ।
महासंघका प्रादेशिक उपाध्यक्ष केसी लामिछानेले प्रदेश सरकारलाई सघाउन र साझेदारी गरी अघि बढ्न लालायित रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहयोगको अपेक्षा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्