काठमाडौं, १४ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सहभागितामुलक लोकतन्त्रमा आधारित नयाँ प्रकारको समाजवाद आवश्यक रहेको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपालको राष्ट्रिय युवा अभियान विशेष भेला आयोजक समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले यसअघिको उदारवाद र समाजवादले काम नदिने भन्दै सबैलाई समृद्ध बनाउन उन्नत प्रकारको समाजवाद आवश्यक रहेको बताउनुभएको हो ।
भट्टराईले नेपालमा राजनीतिक व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था नफेरिएको तर्क गर्नुभयो । संसारलाई बुझ्ने र बदल्ने विषय मुख्य भएको भन्दै उहाँले अहिले विश्व पुँजीवादीको युग र नेपाल काँठे पुजीवादको युगमा रहेको धारणा राख्नुभयो । संयोजक भट्टराईले लोकतन्त्रमा आधारित समाजवादी ध्रुब अबको विकल्प भएको भन्दै यसको नेतृत्व युवाहरुले गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रमा नयाँ शक्ति पार्टी स्थापना भएको दुई वर्ष पूरा भएको अवसरमा देशव्यापी विशेष भेला गर्ने अभियान आयोजक समितिले जनाएको छ । सात वटै प्रदेशको भेला सकेपछि पार्टी स्थापना दिवसको अवसर पारेर जेठ ३० गते विशेष राष्ट्रिय भेला गर्न लागेको अभियानले जानकारी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्