काठमाडौं, १४ जेठ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी पुस मसान्तभित्र विद्युत उत्पादन हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडका अध्यक्ष कुलमान घिसिङले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट समयमै विद्युत उत्पादन गर्नेगरी काम भइरहेको बताउनुभएको हो । लिमिटेडको १०औं वार्षिक साधारणसभाको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले उक्त आयोजनालाई समयमै पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् लागिपरेको पनि स्मरण गराउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले दैनिक १ करोड व्याज मात्रै तिर्नुपर्ने अवस्थाबाट मुक्त हुनपनि आयोजनालाई समयमै सम्पन्न गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न आयोजना संचालक समिति र व्यवस्थापन पक्ष लागिपरेको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको करिव ९५ प्रतिशतकाम सम्पन्न भइसकेको जानकारी दिनुभयो । ३५ अर्ब २९ करोड रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनाको लागत बढेर ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने अनुमान गरिएको छ । भूकम्पले पु-याएको क्षतिका कारण पनि आयोजनाको लागत बढ्न गएको आयोजना व्यवस्थापन पक्षको दावी छ । कार्यकारी निर्देशक घिसिङले दोलखाबासी र सर्वसाधारणको नाममा जारी हुने सेयरमा पनि ढिलाई नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्