काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने भएको छ ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरेको हो । जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
बाह्य लगानी भित्र्याएर मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गम्भिर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको पनि बताउनुभयो ।
बैठकले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ । संविधान र कानुन विपरित हुनेगरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने पनि प्रमुख सचेतक खाँडले बताउनुभयो ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकी जेल सजाय मिनाहा गरेको थियो । कांग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत समेत नभएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्