काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा कार्यरत दुई कर्मचारीमाथि किर्ते कागजात बनाएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
बलात्कार मुद्धाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै उनीहरु सहित कागजात बनाउन लगाउने अन्य २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।
सातौं तहमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पताल सेवा आयोगको सचिव लक्ष्मणप्रसाद अर्यालले नक्कली लिखत तयार गरेको अख्तियारको आरोप छ।
बलात्कार गर्न खोजेको आरोप लागेका ललितपुरका उद्ववप्रसाद नेपाल घटनाको दिन वीर अस्पतालमा उपचारत रहेको कागजात उनीहरूले बनाएका थिए। सोही कागजात पाटन उच्च अदालतमा पेश भएको थियो।
उक्त कागजात नक्कली रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको थियो। त्यसपछि भएको अनुसन्धानबाट नेपालका ससुरा केदारनाथ पराजुलीले दिएको ५० हजार रुपैयाँ लिएर उनीहरूले नक्कली लिखत बनाइदिएको अख्तियारले जनाएको छ।
नक्कली लिखत बनाउने कार्यमा संलग्न भन्दै चारै जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया दिनुहोस्