काठमाडौं, २४ जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग स्वास्थ्य परिक्षणमा सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गर्दै आएका स्वास्थ्य परिक्षण गर्ने कम्पनीका संचालकहरुलाई प्रहरीले गत ६ गते पक्राउ गरेको थियो । यसक्रममा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जना व्यवसायी पक्राउ परेका थिए ।
उनीहरुमध्ये १४ जना व्यवसायी धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशमा मंगलवार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्था र ईश्वर भण्डारी रहेका छन्।
तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थाले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएका हुन्।
सोमवार व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए।
श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार र बुधवार रोजिना शाक्यसहित अन्य ३ जनाले १५-१५ लाख धरौटी रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
प्रहरी नियन्त्रणमा रहेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ भने अहिले नर्भिक अस्पतालमा छन्। बिगो रकम बढी भएपछि श्रेष्ठ अस्पतालको बेडमा पुगेको स्रोतले बताएको छ। श्रेष्ठविरुद्ध २ अर्ब भन्दा बढी बराबरको बिगो लगाइएको छ। यस हिसाबमा उनले अदालतबाट छुट्न २ करोड भन्दा बढी बुझाउनु पर्ने देखिन्छ।
बिगो रकम २ अर्ब भन्दा बढी देखिएपछि धरौटीमा छुट्ने सम्भावना कम भएकाले उनी अस्पताल पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्