काठमाडौं १ असार । मगर समुदायले काठमाडौंको टुँडिखेलमा शुक्रबारबाट भूमे पर्वको सुरुवात गरेका छन् ।
मगरहरुले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ती नआओस भन्ने कामनासहित भूमीलाई पूजा गरेर यो पर्व मनाउने गर्दछन् । भूमिको पूजा गर्दै नाचगान गरिने कार्यक्रमको गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बिना मगरले सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मगर समुदायको भूमे पर्वको विशिष्ट महत्व रहेको भन्दै देशमा विकास र समृद्धिका लागि सुशासन आवश्यक पर्ने र त्यसका लागि मगर लगायत सबै नेपालीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले मुलुकको सांस्कृतिक विकासका लागि सबैका महत्वपूर्ण भूमिका हुने भन्दै देशको आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
खानेपानी मन्त्री बिना मगरले संस्कृति र परम्पराको विकासबाट मुलुक समृद्ध बन्ने बताउँदै सामूहिक रुपमा चावपर्व मनाउनाले पुस्तान्तरणका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, मगर संघका अध्यक्ष नविन रोका लगायतले सम्बोधन गर्नुभएको थियो । भूमे पर्वको अवसरमा शनिवार पनि टुँडिखेलमा विशेष कार्यक्रम हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्