चरिकोट, १६ असार । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका-९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो । जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो ।
जिल्लाको वैत्यश्वर गाउँपालिका-७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं को आज बिहान ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ , जीप लामोसाँघु जिरी सडक अन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका, ३ र ४ को बीचमापर्ने सडकबाट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा परी जिरी नगरपालिका- ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका-१ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् ।
घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्