पाल्पा, २२ असार । दुवै मिर्गौला खराब भई काठमाडौँमा उपचार गराइरहेका प्रेम बगालेलाई अमेरिकाबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ बस्ने बगालेको उपचारमा आर्थिक अभाव भएपछि केही महिना अगाडि उहाँले सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो ।
अमेरिकामा बसोबास गर्दै आउनुभएका नेबिनजङ रायमाझीको संयोेजकत्वमा आर्थिक संकलन गरी पीडित बगालेको उपचारमा सहयोग गर्न रकम प्राप्त भएको हो । बगालेको उपचारका लागि संकलित रु एक लाखको चेक नेबिनजङकी श्रीमती सुविता रायमाझीले काठमाडौँको वीरअस्पतालमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि पीडित बगाले करीब छ महिनादेखि काठमाडौँको वीरअस्पतालमा उपचार गराउँदै आउनुभएको छ ।
विद्यार्थी राजनीतिमा सक्रिय बगालेलाई पछिल्लो समयमा स्वदेश तथा विदेशबाट सहयोगी हात बढेसँगै उहाँको उपचारमा केही सहजता आएको पारिवारिक स्रोतले जनाएको छ । बगालेले आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्