काठमाडौं, २९ असार । एन्फामा भ्रष्टाचार गरेको अभियोगमा फिफाबाट निलम्वनमा परेका राप्रपाका नेता गणेश थापाले पूर्वसांसद रामहरि खतिवडामाथि दुव्र्यवहार गरेका छन् । चौधरी ग्रुपका संचालक अरुण चौधरीका सुपुत्र करण चौधरीको मंगलबार सोल्टी होटेलमा आयोजित विवाह भोजमा थापाले खतिवडालाई दुव्र्यवहार गरेका हुन् ।
विवाह भोजमा उपस्थित भएका बेला थापाले एक्कासी खतिवडामाथि अमर्यादित रुपमा प्रस्तुत भए । उनले अखिल नेपाल फुटबल संघ(एन्फा)को भ्रष्टाचारको मुद्दा उठाएर आफूलाई फसाएको भन्दै गालीगलौज गर्न थाले । थापाले खतिवडालाई कुटपिट गर्ने धम्की समेत दिए ।
विवाह भोजमा रक्सी पिएर मातिएका थापाले खतिवडालाई माफी माग भन्दै तथानाम भन्न थालेपछि खतिवडाले लेखासमितिमा परेको उजुरी र प्राप्त डकुमेन्टले जे बोल्यो त्यही अनुसार गरेको हो, किन माफी माग्ने ? भन्दै प्रतिवाद गरेका थिए । वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मसँग गल्ती भयो भनेर माफी मागिसक्यो, तँ पनि माग भन्दै थापा अराजक रुपमा प्रस्तुत भएका थिए । स्थिति तनावपूर्ण भएपछि भोजमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले गणेश थापालाई सम्हालेका थिए ।
बरिष्ठ अधिवक्ता थापाले समातेर लान खोज्दा पनि थापाले गालीको बर्षा गर्न नछाडेपछि खतिवडाले भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको हो, म डराउँदिनँ भनेर कडा प्रतिवाद गरेका थिए ।
कांग्रेस नेता खतिवडाका अनुसार थापाले मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ? मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन? कांग्रेस–कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए।
प्रतिक्रिया दिनुहोस्