काठमाडौँ, १७ असोज । थाइल्याण्डको कोराटमा भएको ३३औँ किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेता सहितको नेपाली टोली मंगलवार स्वदेश फर्किएको छ । यही असोज ७ देखि १३ गतेसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कास्य जितेको थियो । उक्त स्पर्धामा नेपालबाट रुपेश सुनार (कप्तान), सुजन डङ्गोल, रोशन तामाङ, रविन भट्टराई, सञ्जीत धिमाल र विजय महतोले प्रतिस्पर्धा गरेका थिए । समूह ‘डी’मा रहेको नेपालले समूह चरणको खेलमा ओमन, हङकङ, बङ्गलादेश र स्विट्जरल्याण्डलाई पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा नेपालले फ्रान्सलाई २–० ले हराएको थियो । सेमिफाइनलमा भने नेपाल चाइनिज ताइपेईसँग २–० ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्