काठमाडौं,२२ असोज । सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ ।
एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिइयो ।
एशोसियशनका अध्यक्ष श्रीराम अधिकारीले नेपालमा धेरै जाति, जनजाति रहेकाले प्रत्येक जातजातिका विविध खाना र परिकारलाई समेट्न कार्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो । “नेपालका सबै खानालाई समेट्न सेफ्स एशोसियशनले सो सँग सम्बन्धित सङ्ग्राहलय बनाउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।
एशोसियशनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियशनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ ।
एशोशियसनका महासचिव उद्धव थापाले विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई नेपाली मौलिक खानामा आकर्षण गर्न सेफ्स एशोसियशन लागेको बताउनुभयो । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।
नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न एशोसियशनले विस २०७६ को वैशाखमा भक्तपुर दरबार क्षेत्रमा खाना महोत्सवको आयोजनासमेत गर्न लागेको छ ।
यस्तै आगामी असोज २६ गते शुक्रबारदेखि भारतको अमृतसरमा हुन लागेको ‘वल्र्ड हेरिटेज कुजीन समिट–२०१८’ मा नेपाली मौलिक खानालाई प्रदर्शन गर्न लागेको एशोसियशनले जनाएको छ । सन् १९९६ मा स्थापना भएको एशोसियशनमा हाल दुई हजारभन्दा बढी सदस्य रहेका छन् । जसमा पाँचतारेदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध रहेका छन् ।
एशोसियशनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियशनका उपाध्यक्ष रेशम लामाले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्