सप्तरी, २४ असोज । नेपाल विद्युत प्राधिकरणका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् ।
सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् ।
मिटर रिडरहरु आन्दोलित हुँदा विद्युतको मासिक शुल्क बुझाउने उपभोक्ताहरुलाई कठिनाई भएको छ ।
घरमै गएर मिटर रिडरहरुले मिटर रिडिङ गरि बिल दिने गरेका थिए । तर अहिले उपभोक्ताहरु आफै मिटरमा रहेको अंक टिपेर विद्युत प्राधिकरणमा शुल्क बुझाउन बाध्य छन् ।
न्यून ज्यालामा काम गरे पनि व्यवस्थापन नगरिएको र सेवा सुविधावाट समेत बञ्चित गरिएकोले मिटर रिडिङको काम ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको प्राधिकरण राजविराजस्थित वितरण केन्द्रका मिटर रिडर अध्यक्ष दुर्गानन्द यादवले बताएका छन् ।
यसैगरि नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले मिटर रिडरहरुको माँगहरु बारेमा क्षेत्रिय कार्यालय बिराटनगरबाट प्रक्रिया बढीरहेको जानकारी दिँदै चाडै नै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखी मिटर रिडरहरु सोही पदमा ज्यालादारी रुपमा काम गर्दै आएको र उमेरको हदसमेत नाघेकोले अहिले उनीहरु जागिरको सुनिश्चितताको माँग गरेका छन् ।
प्रदेश २ अन्तर्गत सप्तरीको राजविराज, सिरहाको मिर्चैया, लहान र सिरहा, धनुषाको जनकपुर र महेन्द्रनगर तथा महोत्तरीको जलेश्वर, गौशाला लगायतका वितरण केन्द्रमा मिटर रिडिङको काम असोज १६ गतेदेखि ठप्प रहेको छ ।
यता प्रदेश १ मा पनि कतिपय वितरण केन्द्रको मिटर रिडिङ ठप्प रहेको संघर्ष समितिका केन्द्रीय अध्यक्ष शैलेन्द्र कमल लालले जानकारी दिए ।
राजविराज वितरण केन्द्रका अध्यक्ष यादवले आफूहरुको मागका विषयमा केन्द्रमा वार्ता गर्ने भनिए पनि अहिलेसम्म कुनै निस्कर्ष नआएको बताए ।
प्रतिक्रिया दिनुहोस्