चितवन, २६ असोज । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरि काम गर्ने बताउनुभएको छ । देश सरकारले यस वर्ष मात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताउनुभयो ।
शुक्रबार चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले यहाँ नहुने भन्ने केही पनि नभएको बताउनुभयो । युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरि स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताउनुभयो ।
भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याउनुभएको मिट मार्टमा आठ जना व्यक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् । मावन स्वास्थ्यलाई ख्याल गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको मासु बिक्री गर्ने जोशीले बताउनुभयो ।
आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सि फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्ने जोशीको भनाइ छ । मार्टमा कुखुराको मासु दुई सय ६० रुपैयाँ प्रतिकिलो, खसीको मासु आठ सय रुपैयाँ तथा बोसो रहित खसीको मासु आठ ५० रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिने जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्