बुटवल, २५ कात्तिक।
चिनीया राजदुत यु होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताउनुभएको छ । आज अपरान्ह प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखेरलसंगको भेटमा राजदुत होङले लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
राजदुत होङ र मुख्यमन्त्री पोखरेल बिच भएको भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको थियो । मुख्यमन्त्रीले प्रदेश नम्बर ५ मा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव उपयोगी हुन सक्ने बताउनु भयो । नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेको भन्दै पोखरेलले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुराले आफुलाई खुशी लागेको भन्दै छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार भेटघाटका अवसरमा राजदुत होङले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराउनुभएको थियो । उहांले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिनुभयो ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्रीलाई निमन्त्रणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्