काठमाडाैं, २ मंसिर । भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।
त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।
‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ । त्यही विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा पनि घोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ । उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्