ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचारप्रसारको पर्खाइमा


admin
३० भदौ २०७४, शुक्रबार   ७ : ५९   बजे

ताप्लेजुङ, ३० भदौ । साउन–भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्यवस्तु बोकेर तिम्बुङ पोखरीतिर कोही छाता ओढेर त कोहीे प्लाष्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिनसम्मको पैदल यात्रा पछि पुगिने तिम्बुङ पोखरीसम्मको यात्रा धेरै कठिन झै लाग्छ । तर एकपटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँ जस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरुको लर्को लाग्ने गर्छ ।

मुलुकका थुप्रै सिमसारहरुमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साविकको कालीखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो ।

चार हजार ४ सय ८१ मिटरको उचाइमा रहेको यो पोखरी ४ सय ६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १ सय ४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकारहरु बताउँछन् । यो पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने स्थानीयवासी बताउँछन् । समाजसेवी गजेन्द्र प्रसाद तुम्याहाङले जानकारहरुलाई उद्धृत गर्दै लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताए । उनका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामकरण भएको पनि बताउने गरेका छन् । वर्षौ पहिले अंग्रेजहरुले भारतमा शासन गर्दा पोखरीमा बहुमूल्य धातु हुनसक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने कुरामा स्थानीयवासीको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भएगरेका पापबाट मुक्ति पाइने जनविश्वास पनि रहिआएको छ ।

 

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजंघा निवासी मोहन भट्टराई बताउँछन् । एकातर्फबाट तर्नै नसकिने गरी निस्किएको फोहराले यसको सौन्दर्य अझै थपेको छ । मनसुनका बेला प्राकृतिक सौन्दर्य हेरेर रमाउन चाहने धेरै मानिस वर्षेनी यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनी नाग पञ्चमी र जनै पूर्णिमाको दिन भने यहाँ निकै भिड लाग्ने गर्छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गइसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फूलहरुले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाल लगायतका फूलहरुले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ ।

हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका फूलहरुले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिदिएको आभास मिल्छ भने चट्टानको थुप्रोभित्र छङ्छङ् आवाजमा बग्ने स–साना खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बूढो ओखती लगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठहरुमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालाहरुसँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन । ठूलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानु पर्छ, नत्र एक÷दुई जना गए गोठाला आफंैले पनि खाना पकाइदिन्छन् । प्रायः यात्रीहरुले नुन, तेल, मसला, तरकारी, चामल, ओढ्ने ओछ्याउने लगायतको भारी बोकेर जाने गरे पनि नलिई जानेहरुले झनै गोठालाहरुसँगै खाना खाने शौभाग्य पाउँछन् । गोठालाहरु रातभर जाग्राम बस्छन् तर, पाहुनाको रुपमा कसैले कुनै कष्ट झेल्नु पर्दैन ।

“झरीको समयमा दुःखका साथ आएका पाहुनाहरु भगवान् आए झैँ लाग्छ, त्यही भएर सकेसम्म सत्कार गर्ने गरेका छौँ” – सो क्षेत्रमा रहेका पशुपालक पेम्बा भोटेले भने ।

यो पोखरीमा पुग्न पाँचथर वा ताप्लेजुङका दुईवटा फरक मार्ग छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजंघास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरु पनि स–साना थुप्रै पोखरीहरु रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायतका दर्जनौं पोखरीहरु यहाँ छन् । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँहरु समेत देख्न सकिन्छ ।

तिम्बुङ पोखरी पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि यसको संरक्षण र प्रचारप्रसारको भने खाँचो रहेको छ । धार्मिक क्षेत्रको रुपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सकिए आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने स्थानीयवासीको विश्वास छ ।

यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको बताउने सिरिजंघा–७ खेवाङका उमापति दाहालले सबैले मिलेर पर्यटकीय क्षेत्रको रुपमा यो ठाउँलाई विकास गर्नुपर्ने बताए । बाक्लो रुपमा पर्यटकको आगमन बढाउन सके यस क्षेत्रका स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाइ छ । सिमसार क्षेत्र भएपनि राज्यले यसको संरक्षणमा खासै चासो नदिएको अर्का स्थानीय बासिन्दा बुद्ध दाहालको भनाइ छ ।

स्थानीयवासीका अनुसार यहाँको प्रचारप्रसारका लागि २०७० सालमा भएको तिम्बुङ पोखरी महोत्सव बाहेक कुनै गतिविधि भएको छैन र त्यसयता यो ठाउँको विकास र संरक्षणका लागि समेत कसैले ध्यान दिएको पाइँदैन । यहाँ पुग्ने पैदल मार्गको निर्माण, आवास सुविधा लगायतका पूर्वाधारका बारेमा सरोकार राख्ने निकायले ध्यान दिन जरुरी रहेको पनि उनले बताए । भारतको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरी जैविक विविधताले भरिपूर्ण रहे पनि यसको संरक्षणमा अहिलेसम्म कसैले चासो नदेखाएकामा स्थानीयवासीको गुनासो छ । बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले यो ठाउँको प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको उनीहरु ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group