काठमाडौं । सरकारले रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबारे प्रतिनिधिसभालाई औपचारिक जानकारी गराएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रारम्भिक विवरण प्रस्तुत गर्दै बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसको केही समयपछि चीनको सीमाक्षेत्रबाट ठूलो बाढी नेपालतर्फ प्रवेश गरेको जानकारी दिए।
मन्त्री खनालका अनुसार प्रारम्भिक सूचनामा बिहान करिब ८ बजेर ४० मिनेटमा चीनतर्फबाट आएको बाढी नेपाल प्रवेश गरेको देखिएको छ। बाढीले विशेषगरी रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको सरकारको प्रारम्भिक निष्कर्ष छ।
बाढीको कारण र वास्तविक स्रोतबारे विस्तृत अध्ययन तथा क्षतिको विवरण संकलन भइरहेको मन्त्री खनालले बताए। भूकम्प र त्यसपछिको बाढीबीच सम्बन्ध भए–नभएको विषयमा समेत सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको बुझिएको छ।
मन्त्री खनालले विपद्पछि सरकारले चालेका कदम तथा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूबारे पनि सदनलाई जानकारी गराएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत तथा आवश्यक मानवीय सहयोगलाई प्राथमिकतामा राखेर सरकारी संयन्त्र परिचालन गरिएको उनले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्