काठमाडौं, ४ मंसिर । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।
अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।
अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।
अधिकारीले भने, ‘म ६० लागिसके । अब ३/४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु ? ’ आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’
आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्