काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सर्वसाधारणसँगै उद्धार तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत प्रभावित बनाएको छ। बाढीपछि ४४ जना नेपाली सेना सम्पर्कविहीन भएको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षा जिम्मेवारीमा खटिएका थिए। बाढीपछि उनीहरूसँग सञ्चार सम्पर्क विच्छेद भएको र खोजी तथा सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत त्रिशूली नदीको तटीय क्षेत्रमा व्यापक विनाश निम्त्याएको छ। नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा ठूलो क्षति पुगेको छ।
सुरक्षाकर्मीहरू स्वयं प्रभावित बनेको पछिल्लो विवरणले विपद्को गम्भीरता थप स्पष्ट पारेको छ। नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहँदा नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
यससँगै सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या कम्तीमा ८५ पुगेको छ। उनीहरू बाढी प्रभावित क्षेत्र, सुरक्षा पोस्ट, जलविद्युत् आयोजना तथा अन्य संवेदनशील क्षेत्रमा खटिएका बेला सम्पर्कविहीन भएको बताइएको छ।
खोजी तथा उद्धार चुनौतीपूर्ण
बाढीले सडक, पुल र सञ्चार संरचना क्षतिग्रस्त बनाएपछि सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी कार्य चुनौतीपूर्ण बनेको छ। कतिपय क्षेत्रमा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने विद्युत् र दूरसञ्चार सेवा पनि अवरुद्ध भएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उपलब्ध हवाई तथा स्थलमार्ग प्रयोग गर्दै उद्धार र खोजी अभियानलाई तीव्र बनाएका छन्। तर, नदीको बहाव, मौसम तथा भौगोलिक कठिनाइका कारण खोजी अभियान सहज हुन सकेको छैन।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको यो विपद्ले सर्वसाधारण मात्र होइन, उनीहरूको उद्धार र सुरक्षामा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई समेत जोखिममा पारेको छ। अहिले राज्यको मुख्य प्राथमिकता बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको अवस्थाबारे जानकारी प्राप्त गर्नु, घाइतेको उपचार गर्नु र प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्र बनाउनु रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्