पर्सा, ६ मङ्सिर । पर्साको सखुवाप्रसौनि गाउँपालिकाबाट प्रहरीले गए राति छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गाउँपालिकाको वडा नं ५ बुलवाटोल निवासी जलन्धर यादवको घरबाट कैडा खेलिरहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यादवको घरमा जुवा खेलिरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा छ जनालाई रु २८ हजार नगदसहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
उहाँले पक्राउ पर्नेमा पर्साको बहुदरामाई नगरपालिका–५ निवासी दीपनारायण महतो, सखुवाप्रसौनि–६ निवासी मुखतार मियाँ, जोखु राउत वडा नं ५ निवासी रामगुलाम यादव, जयराम राउत र दिनेश राम रहेकोे बताउनुभयो ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्