काठमाडौं, ६ मंसिर । मर्स्याङ्दी नदीमा ‘जल खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी शनिबार, आइतबार र सोमबार लमजुङस्थित मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो।
‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ नाम दिइएको सो जल खेलकुद प्रतियोगिता ‘नेपाल पर्यटन वर्ष २०२०’लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए।
प्रतियोगितामा ४ सय जना सहभागी हुनेछन्। प्रतियागितामा तीन वटा खेल सञ्चालन गरिने अधिकारीले बताए। जसअनुसार कायक डाउन रिभर रेसमा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिने छ।
त्यसैगरी एक्ट्रिम कायक स्लालोम र बोटर क्रस गेममा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ नगदसहितको पुरस्कारको व्यवस्था गरिएको पनि महासचिव अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्