गलेश्वर, १० मङ्सिर । पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोक्टा र कान्ला कान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन ।
परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुराको उदाहरण म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका हरिलाल घिमिरे बन्नुभएको छ ।
पछिल्लो समय ४८ वर्षीय घिमिरेको जीवन तरकारी खेतीका कारण फेरिएको छ । तीस वर्षअघि गरीबीका कारण गाउँमा बस्न सक्ने अवस्था थिएन । विदेश जानका लागि रु ६० हजार ऋण नपाउनुभएका घिमिरेले अहिले तरकारी खेतीबाटै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
दश वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गरामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरियाँ, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
“वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुन्छ,” घिमिरेले भन्नुभयो । गत वर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तोमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “
बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोड्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्