काठमाडौं,१० मङसिर । वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आफूसँग गरेको सम्झौता पुष २ गतेसम्म पूरा गर्न सरकारलाई अल्टिमेटम दिनु भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले गत साउन १० गते सरकारसँग भएको सम्झौता पुस २ गतेसम्म पूरा नभए पुनः आमरण अनसनमा बस्ने चेतावनी समेत दिनु भयो ।
सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोज्ने काममा ढिलाई गर्न पनि सरकारलाई वरिष्ठ चिकित्सक केसीले सचेत गराउनु भयो । १५ औं आमरण अनसनका क्रममा गरिएको सहमति अझै पालना नभएकोमा आपत्ति जनाउँदै उहाँले सम्झौता बमोजिम संघीय संसदबाट अबिलम्ब राष्ट्रिय चिकित्सा ऐन पारित गर्न पनि माग गर्नु भयो ।
वरिष्ठ चिकित्सक केसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन तथा सो हत्याको प्रमाण नष्ट गर्नेहरुमाथि कडा कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारको निर्णय विपरित काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भएको छ ।
वरिष्ठ चिकित्सक केसीले राष्ट्रपतिलाई बिलासिताको सवारी साधन उपलब्ध गराउने काममा सरकार लागि परेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्