काठमाडौं १४ मङसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी सहयोग बैंक तथा वित्तीय संस्थामार्फत आउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।
मिडिया इन्टरनेशनलद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले अहिले विदेशी दातृ मुलुकहरुले सरकार वा एनजीओ-आईएनजीओमार्फत ऋण तथा अनुदान परिचालन गर्ने गरेकोमा अब बैंकिङ क्षेत्रसँग सहकार्य गरिनुपर्ने धारणा राखे ।
दातृ निकायहरुले पनि यो प्रस्ताव राखेको तर नेपालकै तर्फबाट अलमल भएको थापाले जानकारी दिए । नेपालको वित्तीय क्षेत्र एउटा उचाईमा पुगेर गतिहीन भएको उल्लेख गर्दै थापाले विदेशी पुँजी भित्र्याउने बाटो खोल्न सके वित्तीय क्षेत्रमा गतिशीलता फर्किने बताए ।
यसका अलावा वित्तीय क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने, पुँजी बजारसम्बन्धी संस्थाहरु स्थापना गर्नुपर्ने लगायतका आवश्यकता उनले औँल्याए ।
कार्यक्रममा बोल्दै बैंकिङ विज्ञ कृष्णबहादुर कुँवरले बैंकिङ क्षेत्रको सुरुवातदेखि अहिलेको समयसम्म निकै विकास भइसकेको उल्लेख गरे ।
मुलुकका धेरै स्थानमा र धेरै व्यक्तिको पहुँचमा बैंक पुृग्न बाँकी रहेको उल्लेख गर्दै उनले अझै पनि वित्तीय क्षेत्रमा विकासको ठूलो सम्भावना रहेको बताए ।
त्यस्तै, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले नेपालको ग्रामीण भेगमा वित्तीय पहुँच विस्तार गरी उद्यमशीलता विकासमा ठूलो योगदान पुर्याएको उल्लेख गरे ।
सरकारले र अन्य ठूला बैंकहरुले समेत गर्न नसकेको काम लघुवित्तहरुले गरिरहेको उनले बताए । यसरी विकटमा पुगेर सर्वसाधारणलाई सेवा पुर्याइरहेको लघुवित्तहरुलाई प्रोत्साहनका लागि राष्ट्र बैंक र सरकारले पनि केही व्यवस्थाहरु गर्नुपर्ने उनको भनाई छ ।
ग्रामीण क्षेत्रमा गएर काम गर्न अप्ठेरो हुनुका साथै लागत पनि बढि लाग्ने भएकाले कर छुट कर निश्चित विकट क्षेत्र छुटाएर ती स्थानमा जाँदा कर छुट हुने लगायतका व्यवस्था गरिनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्