काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज ९सोमबार० संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक बोलाइएको हो ।
बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।
प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको उक्त योग्यता पुगेको छैन ।
परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम न्यायाधीशमध्ये जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्ति हुन् । न्याय परिषद्ले सिफारिस गर्दा वरिष्ठतम न्यायाधीश जोशीको नाम पहिलो नम्बरमा राखे पनि कैफियतमा ‘यसअघि सुनुवाइ समितिबाट अस्वीकृत’ भन्ने व्यहोरा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्