काठमाडौं,२६ मंसिर । नेपाल प्रहरीले महँगीअनुसार ४० प्रतिशत रासनभत्ता बढाउन प्रस्ताव गरेको छ । पछिल्लो चार वर्षदेखि प्रहरीको रासनभत्ता वृद्धि नभएपछि प्रहरीले महंगीअनुसार ४० प्रतिशत बढाउन प्रस्ताव गरेको हो । चार वर्षयता महँगी धेरै बढेको भन्दै रासनभत्ता बढाउन माग गरेको प्रहरीले जनाएको छ ।
अहिलेको रासनभत्ताले खाना खानसमेत नपुगेको प्रहरीको गुनासो रहेको छ । चार वर्षको अवधिमा बढेको महँगी, नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांक, नेपाल उद्योग वाणिज्य महासंघको मूल्यसूची र रासनमा क्यालोरीसमेत बढाएर ४० प्रतिशत भत्ता वृद्धि गर्न प्रहरीको प्रस्ताव छ । लामो समयदेखि रासन वृद्धि नहुँदा समस्या भएकाले वृद्धिका लागि पहल गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता पुनरावलोकनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । गृहमन्त्री रामबहादुर थापा, बादलको गृह प्रशासन सुधार मार्गचित्रमा प्रहरीको रासनभत्ता समयानुकूल बनाइने र विभेद हटाइने उल्लेख छ । त्यसैको कार्यान्वयनका क्रममा गृहले सहसचिव महादेव पन्थको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो ।
प्रहरीले पाउने रासनको दररेट जिल्लापिच्छे नै फरक हुन्छ । हरेक जिल्लामा रासनको मूल्य फरक हुने भएकाले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा रहने समितिले यसको टुंगो लगाउँछन् । पहाडी तथा हिमाली जिल्लाहरूमा कार्यालयअनुसार रासनभत्ताको दर फरक हुन्छ । दुर्गम क्षेत्रका प्रहरीले धेरै रासनभत्ता पाउँछन् । काठमाडौंका प्रहरीले दैनिक एक सय ७५ रुपैयाँ पाउँछन् भने हिमाली सीमास्थित ओलाङचुङगोला प्रहरी कार्यालयका प्रहरीले दैनिक पाँच सय ३२ रुपैयाँ पाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्