काठमाडौं,२ पुस । मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको उनीहरुलाई भाग्न खोजेपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले पत्रकारलाई बताएका छन ।
स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु रहेका छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।
अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएपछि सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि उनीहरु स्वदेश भाग्न खोजेको प्रहरीले दाबी गरेको छ । अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ ।
प्रतिक्रिया दिनुहोस्