सप्तरी,२ पुस।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पालेको बन्चरो प्रहारबाट मृत्यु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबार राती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले लागु औषध गाँजा सेवन गरि बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते बनाएका थिए । गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो ।
तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो घटनाको विरोधमा तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा स्थानियहरुले प्रदर्शन गर्नुका साथै यातायात अवरोध गरेका छन् । हत्यामा संलग्न रहेकाहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्