काठमाडौं, ३ पुस । साढे चार वर्षदेखि ब्लड मनी तिर्न नसकेर युएईको दुबईको जेलमा रहेको तेह्रथुमका खड्गबहादुर जोगीलाई घर फर्काउन अभियान थालिएको छ।
खड्गबहादुरले दुई लाख युएई दिराम (करिब ६२ लाख रुपैयाँ) ब्लडमनी तिनुपर्ने दुबई अदालतले फैसला गरेको छ। उनलाई आगामी चैत ९ सम्म ब्लड मनी तिर्न समयसीमा तोकिएको छ। तर, रकम अभावमा उनी साढे चार वर्षदेखि जेलमा रहेका छन्।
खड्गबहादुरलाई स्वदेश फर्काउन विभिन्न क्षेत्रमा सहयोग रकम देश तथा विदेशमा संकलन सुरु गरिएको छ। मलेसियमा कार्यरत नेपालीहरुले ‘खड्गबहादुर जोगी बचाउ अभियान’ अन्तर्गत रकम संकलन गरिरहेका छन्।
उक्त सहयोग तेह्रथुम मलेसिया सम्पर्क मञ्च नामक संस्थाले अगुवाइ गरिरहेको मञ्चका अध्यक्ष प्रेम लिम्बू बताए। मञ्चको अगुवाइमा अहिलेसम्म तीन लाख ५० हजार रुपैयाँ सहयोग रकम संकलन भइसकेको अध्यक्ष लिम्बूले जानकारी दिए। सहयोग रकम संकलन जारी रहेको उनले बताए। फेदाप गाउँपालिका–२ ओयाक्जुङ, मझुवागाउँका खड्गबहादुर २०७० बैशाखमा रोजगारीका लागि दुबई गएका थिए।
त्यहाँको अलगर्फ डेभलपमेन्ट प्रोजेक्ट कम्पनीमा गएका उनी नेपालबाट गएको पाँच महिनामै जेल परेका हुन्। ड्युटीको बेला कम्पनीका साथी फिलिपिनका नागरिक दुर्घटना परेको र उनलाई बचाउन अस्पतालसम्म उनले लगेका थिए।
तर, ती फिलिपिनी नागरिकको उपचारको क्रममा मृत्यु भएपछि खड्गबहादुरलाई हत्याको आरोपमा जेल सजाय सुनाइएको हो। दुई छोरा दुई छोरी र श्रीमती रहेका खड्गबहादुरका बुवाआमा वृद्धवृद्धा छन्। आर्थिक अवस्था कमजोर रहेको परिवारले सहयोगको याचना गरेका छन्।
प्रतिक्रिया दिनुहोस्