पोखरा, ५ पुस । मुलुकी अपराध संहिता २०७४ लागू भएपछि कास्की जिल्ला अदालतले देशमै पहिलोपल्ट प्रतिवादीलाई जीवित रहेसम्म कैदको फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विक (श्रीया सुनार)लाई बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई अदालतले बुधबार आजीवन कारावासको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश योगन्द्रप्रसाद साहको इजलासले गरेको फैसला नेपालको न्यायिक इतिहासमा कसूरदार जीवित रहेसम्म कैदमा राख्ने गरी भएको पहिलो हो ।
अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्था बमोजिम सजाय निर्धारण गरेको बताए । विभिन्न ६ अपराधमा जीवित रहेसम्म कैद फैसला गर्ने व्यवस्था छ ।
पोखरा–२२ पुम्दीभुम्दीको कोदीमा गत असोज ८ मा स्थानीय २७ वर्षीय कुसुम पौडेलले श्रेयाको बलात्कार र हत्या गरेका थिए ।
असोज २२ मै श्रेयाको परिवारले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले मंसिर १७ मा पौडेलले श्रेयालाई जबर्जस्तीकरणी गरी मारेको कसुर ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्