बेनी, ५ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
विहिबार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन वन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक वन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले रंगेहात पक्राउ गरेको हो ।
काठ सम्बन्धि मुद्या मिलाईदिने भन्दै अतिरिक्त रकम मागेको सुचना आएपछि कार्यालयबाट खटिएको टोलीले घुस लिँदै गर्दा निजलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा स्थित कार्यालयका सुचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।
पक्राउ परेका सहायक बन अधिकृत ठाकुरमाथि थप अनुसंधान गरि मुद्या दायर गरिने उहाँले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको काठ सम्बन्धि मुद्धालाई मिलाईदिने भन्दै घुस मागेको सुचना आएपछि नेकपा निकट युवानेताहरु प्रकाश पौडेल, नगेन्द्र केसी लगायतको बिशेष पहलमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा स्थित कार्यालयसंग समन्वय गरिएको थियो ।
सरकारी कार्यालयहरुमा कानुनको व्यापार हुने गरेको गुनासो बढेपछि जिल्लामा भष्ट्राचार र घुस लेनदेन हुने कार्यालयहरुको लिष्ट नै तयार पारेको र जनस्तरबाट आउने गुनासाहरुलाई सम्बन्धित निकायमा पु¥याएर कानुनी कारबाहीको दायरामा ल्याउने अभियान सुरु भएको नेकपा निटक युवा नेता प्रकाश पौडेलले बताउनुभयो ।
हालै बेनीमा एक कार्यक्रम आयोजना गरि नेकपा निकट युवा नेता पौडेलको अगुवाईमा भष्ट्राचारको विरुद्ध शुसासनको पक्षमा युवा अभियान घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्