काठमाडौं,६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गते सम्ममा संविधानसंग बाझिएका सबै ऐन संसोधन गरिने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समुहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समय भित्रै सबै ऐन संसोधन गरिसक्ने बताउनुभएको हो ।
संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श गरि प्रक्रियासम्मत ढंगले ऐनहरु पास गरिने पनि उहाँले बताउनुभयो । कतिपय पुराना ऐनहरु सामान्य संसोधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उहाँले समय भित्रै सबै प्रक्रिया पुरा गरेर आवश्यक कानुनहरु संघीय संसदले पास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संघीय संसद बैठक प्रारम्भ भएको मितिले एक बर्ष भित्र संविधानसंग बाँझिएका ऐन संसोधन गरि पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ । त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नया कानुन पनि आगामी फागुन २० गते भित्र संसदबाट पास भई प्रमाणिकरण भईसक्नुपर्ने व्यवस्था छ ।
अध्यक्ष तिमिल्सिनाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि जनतामाझ पुर्याउने सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिनुभयो ।
मामिलाका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले ससदीय रिपोर्टिङलाई सहज र प्रभावकारी बनाउन सचिवालयको सहयोग महत्वपुर्ण भएकाले आपसी सहयोग आदानप्रदानमा सहयोगी भुमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्