वीरेन्द्रनगर, ६ पुस । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताउनुभएको छ ।
मन्त्री ज्वालाले आवश्यक कानून र कर्मचारीको अभावका कारण विकास खर्च हुन नसकेको भन्दै त्यसको खर्चको लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । यसको लागि बोलपत्र प्रक्रिया अगाडि बढाउनेदेखि समिति गठनजस्ता काम अगाडि बढाउने गरी योजना बनाएको बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले भन्नुभयो, “यसपटक पहिलो वर्ष भएकाले पनि सोचेजस्तो खर्च भएको छैन, अब विकास खर्च गर्ने गरी काम गर्छाैं ।”
त्यसैगरी प्रदेश सरकारले वैदेशिक सहयोग जुटाउनको लागि तत्पर रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा लगानीमैत्री वातावरणको लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
सङ्घीय सरकार कर्णालीमैत्री भएमा यस प्रदेशमा विकास निर्माणका काम अगाडि बढाउन सहज हुने ज्वालाको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले मन्त्रालयले हालसम्म रु दुई अर्ब ५० करोड ८३ लाख खर्च भएको जानकारी दिनुभयो जसमध्ये आकस्मिक कोषमा दुई अर्ब र प्रदेशका सबै स्थानीय तहमा २० करोड रहेको छ ।
अख्तियारीमार्फत रु ३० करोड ८३ लाख खर्च भएको उहाँले बताउनुभयो । यसरी हेर्दा अहिलेसम्म ११ प्रतिशत प्रगति भएको मन्त्रालयका सचिव निरौलाको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले विकास निर्माणमा गाँठा फुकाउने काम भइरहेको बताउनुभयो । यस प्रदेशलाई ‘प्रोजेक्ट’ बैंकका रुपमा विकास गरिने उहाँको भनाइ थियो ।
आयोगका सदस्य रोकायले कर्णाली प्रदेशलाई सडक, विद्युत्, एकीकृत बस्ती विकासजस्ता पूर्वाधार निर्माण तथा अर्गानिक प्रदेशको रुपका विकास गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्