महेन्द्रनगर, ८ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएको छ।
अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका–१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरिएको हो। तर, प्रदिपलाई भने हालसम्म पनि हिरासत मुक्त गरिएको छैन। उनलाई सिआइबीकै हिरासतमा राखिएको छ।
विशाललाई शनिबार नै परिवारको जिम्मा लगाइएको छ। प्रहरीले भने गएको शुक्रबार विशाललाई नै बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो। शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर विशाललाई बुबा वीरवहादुर चौधरीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ।
बलत्कार र हत्यामा संलग्न भएको आरोपमा सिआइबीको टोलीले भीमदत्त नगरपालिका– १८, भगतपुर १७ वर्षीय प्रदीप रावललाई गएको मंसिर १८ मा नियन्त्रणमा लिएको थियो। उनै रावलको बयानका आधारमा मंसिर १९ गते कञ्चनपुरबाट विशाल र दिनेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।
साविती बयानमा रावलले अपराध स्वीकारेको भनिएपनि यी तीनै जनाको डिएनए भने म्याच भएको थिएन।
उनीहरुलाई हत्यामा संलग्न भएको आशंकमा पक्राउ गरिए पनि परिवारले भने रावल र चौधरी त्यसबेला (साउन १०–११) गते प्रहरी हिरासतमै भएको दाबी गर्दै आएका छन्। कुखुराको मासु पसल चोरी गरेको आरोपमा निर्मला पन्तको हत्याको बेला उनीहरु प्रहरी हिरासतमै रहेको परिवारका सदस्यले बताएका हुन्।
निर्मला हत्या भएको आज १ सय ५० दिन भइसकेको छ। तर, सरकारले हालसम्म पनि हत्यारा पक्राउ गर्न सकेको छैन। यसैबीच निर्मलाकाे हत्या भएकाे लामाे समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेकाे भन्दै विराेध स्वरुप आज काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरिने भएकाे छ। सडकमा ‘दण्डहिनताकाे १ सय ५० दिन’ लेखेर विराेध जनाइने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्