काठमाण्डौं ४, असोज । नेपाल सरकारसंग सम्बन्धित सबै पुराना तथा नयाँ राजपत्रहरु मोबाईलबाटै हेर्न र पढ्न सकिने गरी नेपाल सरकारले ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरेको छ । बुधबार विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ नामक सेवाको शुभारम्भ गरेका छन् ।
बुधबार डब्लू डब्लू डब्लू डट राजपत्र डट जिओभी डट एनपी (www.rajpatra.gov.np) बाट नेपाल सरकारका नयाँ तथा पूराना राजपत्रहरु सजिलै पढ्न सकिने गरी ‘नेपाल राजपत्र मोवाईल एप्लीकेसन’ सेवा शुभारम्भ गरिएको मन्त्री बोहोराले जानकारी दिए ।
उनले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि सरकारले सम्बन्धित विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्न चाहेको पनि स्पष्ट पारे । मन्त्री बोहोराले संघीय ढाँचा अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रको विकासमा सरकार लागि परेको पनि स्पष्ट पारे । उनले विश्वका विभिन्न मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरुलाई नेपालको हितमा काम गराउने गरी गुरुयोजना बनाउन लागिएको पनि जानकारी दिए ।
मन्त्री बोहोराले सरकार सूचना प्रविधिको विकासमार्फत मुलुकको दीगो विकास गर्न प्रतिवद्ध रहेको पनि स्मरण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्