काठमाडौं,२ माघ । थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ ।
लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टीनलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ ।
हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको भन्दै थ्री स्टारले कारवाहीको माग गरेको हो । खेल्ने समयमा टीममा नआएका र पुरस्कार वितरणलगायतका कार्यक्रममा समेत उपस्थित नभएको बताउँदै क्लबले कारवाहीको सिफारिश गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो ।
नाइजेरियन खेलाडी पिटर लामो समययता थ्री स्टारको सेन्टर डिफेन्डसको भूमिकामा रहँदै आएका छन् भने मार्टिन मुख्य स्ट्राइकरका रुपमा छन् ।
लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्री स्टार दुवै खेलाडीलाई कारवाही गर्ने निर्णयमा पुगेको हो । छानविन गर्न अनुशासन कमिटीलाई निर्देशन दिइएको र केही दिनभित्र निर्णय हुने महासचिव तुलाधरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्