
काठमाडौं,२२ माघ । सरकारी स्वामित्वमा रहेको दूर संचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनडी मोवाईल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमडी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराउनु भएको हो ।
सोही योजना अनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा पनि गरेको छ ।
प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिनु भयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।
प्रबन्ध निर्देशक अधिकारीले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको बताउनु भयो ।
नेपाल टेलिकमले नेत्रहिन नागरिकहरुलाई पनि सिडिएम र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्