काठमाडौँ, २० फागुन । नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् ।
विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।
पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन् । तीमध्ये एक सय पचास महिलामा रिङप्रेसरी राखिएको उपचारमा संग्लन डा नवराज केसीले बताउनुभयो । उहाँका अनुसार, पाठेघर खसेका ३० महिलालाई शल्यक्रियाका लागि सुर्खेत रिफर गरिएको र एक सय ३० महिलाको पाठेघर क्यान्सरको स्क्रीनिङ गरेको छ ।
यसैगरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिँड्डुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई थप उपचार तथा अभ्यासका लागि सुर्खेत पठाइएको छ भने कुपोषित अवस्थाका १८ बालबालिकालाई पोषण पुनःस्थापना गृह सुर्खेतमा पठाइएको डा केसीले बताउनुभयो । शिविरमा आएका अधिकांश महिलामा पाठेघर संक्रमण र पोषणको कमी देखिएको उहाँले बताउनुभयो ।
विगत आठ वर्षदेखि पाठेघर सम्बन्धी समस्याबाट पीडित नलगाड नगरपालिका–३ की धनसरी पुनले शिविरमा रिङप्रेसरी हालेपछि यो समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको युवा समाजसेवी प्रकाश पन्तले बताउनुभयो ।
शिविर सञ्चालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्