काठमाडौँ, २० फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उहाँको भावपूर्ण स्मरण गरियो ।
श्रद्धाञ्जलिसभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताउनुभयो । “पर्यटन क्षेत्रको विकासमा उहाँले पु¥याउनु भएको योगदान अतुलनीय भएको ” मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि तीनवटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औँल्याउनुभयो ।
नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उहाँले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उहाँले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उहाँका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उहाँले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्