काठमाण्डौं, २० असोज । बाजुराबाट उडान भर्ने विमान कम्पनीले मनोमानी हिसाबले भाडा असुल्ने गरेको पाइएको छ ।
बाजुराको कोल्टी बाट नेपालगञ्ज सम्मको नियमित भाडादर रु तीन हजार ७६० कायम गरीए पनि विमान कम्पनीले मनोमानी हिसाबले भाडा रु पाँच हजारदेखि सात हजारसम्म लिने गरेको पाइएको छ ।
जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ ।
कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् ।
हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ ।
आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ । महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित हँुदा थप सास्ती भोग्न बाध्य छन् ।
चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनु पर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्