काठमाडौं,२६ फागुन । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो ।
सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारको शान्ति, स्थिरता, सुशासन र मधेशका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धताअनुसार सरकार निर्माणकै बेला यो सरकारलाई समर्थन जनाएका थियौँ तर सरकरले बारम्बार आश्वासन दिने काम ग¥यो, मधेश आन्दोलनमा घाइतेको उपचार, झुटा मुद्दाको खारेजी गर्छाैँ, भनेको थियो, त्यो प्रतिबद्धता पूरा गरेन ।
राजनीतिक द्वन्द्वका विषयलाई सम्बोधन गर्नुपर्छ भनेर सरकारसँग बारम्बार विषय उठायांैँ तर सरकारले त्यसलाई सम्बोधन गर्नुको साटो सधैँ झुटा आश्वासन दिने मात्र काम भयो, हामीले उठाएको विषय देशको समस्या र सार्वभौमसँग जोडिएका नागरिकतालगायतका जायज मागलाई सरकारले सम्बोधन गर्न चासो पनि देखाएन त्यस कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हौँ ।”
उहाँले सङ्घीयता र संविधानका बारेमा सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमति सकारात्मक भए पनि त्यस सहमतिमा परेका केही बूँदा नेपालको स्वाधीनता र स्वतन्त्रतासँग मेल नखाने भन्दै जनअभिमतको विषय पनि सरकारबाट स्पष्ट आउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको सार्वभौम र स्वतन्त्रता विपरीत हुने कुरा हामीलाई स्वीकार्य छैन ।”
प्रतिक्रिया दिनुहोस्