काठमाडौं,२६ फागुन । नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन् ।
‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेका नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको हो ।
पुरानो नागरिकता खिची नयाँ ठेगानाबाट स्थानीय प्रशासनले नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो ।
समितिको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिंदै समितिका सदस्यहरुले तेस्रो लिंगीले पनि नागरिक पाउनुपर्ने व्यवस्था ऐनमै गर्न सरकारसंग माग गरेका थिए ।
समितिका सदस्य जनार्दन शर्माले तेस्रो लिंगीलाई नागरिकता पाउने व्यवस्था ऐनमै गर्नुपर्ने माग गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले भने तेस्रो लिंगीलाई चिकित्सकहरुले प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले प्रमाणित नभई तेस्रो लिंगी भन्न नमिल्ने भएकाले चिकित्सकहरुले उनीहरुलाई प्रमाणित गरेपछि मात्रै नागरिक दिने व्यवस्था गर्न लागिएको बताउनुभयो । विधेयकमा तेस्रो लिंगीलाई पनि नागरिकता दिने व्यवस्था गरिए पनि उनीहरु तेस्रो लिंगी भए–नभएको छुटट्याउने आधार पेश गरिएको छैन । सचिव राईले तेस्रो लिंगीलाई नागरिकता दिँदा उनीहरु तेस्रो लिंगी हुन–होइनन् भन्ने प्रमाण आवश्यक हुने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्