बुटवल, २७ फागुन ।
बुटवल उपमहानगरपालिकाका जन प्रतिनिधिहरु अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बुझाउन घरघरमै पुगेकाछन् । उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै असक्त र ८० वर्ष उमेर समूहभन्दा माथिका नागरिकहरुलाई घरमै पुगेर भत्ता प्रदान गरिँदै आएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं। १ ले वडामा रहेका असक्त तथा ज्येष्ठ नागरिकहरुलाई आज घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगलले पुरानो बुटवल स्थित नारायणथान टोलकी एकसय चार वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई सुरक्षा भत्ता हस्तान्तरण गर्दै कार्यक्रमको शुरु गरेका थिए । ४ महिनाको आठ हजार रुपैयाँ नगद रकम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । लिगलले वडाका चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ जनालाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका थिए ।
वडा अध्यक्ष लिगलसहित वडा सदस्यहरु मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता बितरण गरेका थिए । घरमै भत्ता बोकेर जनप्रतिनिधिहरु आएपछि स्थानीयबासीहरु निकै खुसी भएका छन् । उनीहरुले बल्ल सरकार भएको महसुस गरेको समेत प्रतिक्रिया दिएका छन् । सरकार भेटे जस्तै अनुभुति भएको भत्ता बुझेपछि स्थानीय चन्द्रमान शाक्यले बताए । नगरका १९ वटै वार्डमा घरघरमा भत्ता बितरणको कार्य भएको वडा अध्यक्ष लिगलले बताए ।
प्रतिक्रिया दिनुहोस्