काठमाडौं १० चैत । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ । सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन् । अघिल्लो साता प्रचण्डले पत्नी सीता दाहाललाई अमेरिका लगेर जोन हप्किन्स र सीपीसी सेन्टरमा परीक्षण गराए ।
यसभन्दा अघि सिंगापुरमा गरिएको रोगको निदान नै सही रहेको भएतापनि उपचार पद्धति र औषधीय विधिमा गरिएको परिवर्तनले सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको प्रचण्डले एबीसीलाई बताए । सीता दाहाल एक्लै हिंडडुल गर्न समेत नसक्ने अवस्था रहेकी थिइन । तर अमेरिकाको उपचारले उनी केही समयपछि विना सहारा हिंडडुल गर्न सक्ने आशा पलाएको बताउँदै प्रचण्डले सन्तोष व्यक्त गरे ।
सीता दाहालको परीक्षण अमेरिकाको जोन हप्किङ्स अस्पतालको आउटडोर प्यासेन्ट भएको हो । त्यहाँ पनि उनलाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामक नै रोग लागेको समेत निश्चित भएको प्रचण्डले बताए । यस सम्बन्धी रोगको अमेरिकामा रहेको अनुसन्धान केन्द्रमा समेत सीताको परीक्षण गरिएको उनले बताए । अनुसन्धान केन्द्रको उपचार पद्धतिबाट प्रचण्ड परिवारमा खुशी पलाएको छ । उनी अब आफै हिंडडुल गर्न सक्ने आशा पलाएको छ प्रचण्डले भने ।
भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल समेत भइरहेको प्रचण्डले बाताए ।
गत असोज १० मा प्रचण्डले सीतालाई उपचारका लागि सिंगापुर लगेका थिए भने त्यस अघि दिल्ली समेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए । पछि त्यही नेपाली काँग्रेसका नेताहरु समेत गएर तातोपानी नुहाएका थिए ।
प्रचण्ड अब छिटै स्वदेश फर्कने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्