बैतडी, २६ असोज । बैतडीमा जिल्ला किशोरी सम्मेलन शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा किशोरी सम्मेलन बुधवारदेखि शुरु भएको हो ।
बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो । बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको उहाँले बताउनुभयो । सञ्जालमा जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका किशोरीको सहभागिता रहेकोछ ।
यस्तै सम्मेलनमा किशोरीवृत्त समूहले अहिलेसम्म बालविवाह न्यूनीकरणका लागि गरेका प्रयास, प्राप्त उपलब्धि र चुनौती तथा समस्याका बारेमा छलफल गरिएको छ । छलफलमा किशोरीले बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहँदा सुरक्षा चुनौतीसमेत रहेको आँैल्याएका छन् ।
बालविवाह न्यूनीकरणका लागि सबै लाग्नुपर्ने
बालविवाह न्यूनीकरणका लागि सरोकारवाला सबैले लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा बुधबार सदरमुकामगढीमा आयोजना गरिएको अन्तर संवाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी किशोरीले बालविवाह न्यूनीकरणका लागि परिवारबाटै अभियान शुरुवात हुनुपर्ने बताएका छन् । बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्ने बेला धेरै चुनौती भए पनि पछिल्लो समयमा केही हदसम्म बालविवाह न्यूनीकरण भएको उनीहरुले बताएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बालविवाह न्यूनीकरणका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले दशरथचन्द नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका घोषणा गरिने बताउनुभयो । नगरपालिकाभित्र हुने बालविवाह रोक्नका लागि आफूहरुको अभियान जारी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्