काठमाडौँ, १८ वैशाख । सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सोही मर्मअनुसार सङ्घीय संसद्मा अहिले केही श्रमसम्बन्धी ऐन कानून निर्माणका क्रममा रहेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवीलाई शुभकामना सन्देश व्यक्त गर्दै उहाँले श्रमिक वर्गका पक्षमा ऐनकानून निर्माण गर्नाका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरले अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौँ नेपाली श्रमिक न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको बताउँदै उहाँले श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र तिनलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको छ ।
सो कार्यका लागि नीतिगत व्यवस्था तथा व्यावहारिक रुपमा कार्यान्वयनको पक्षलाई कडाइका साथ अघि बढाउन जरुरी भएको सन्देशमा उल्लेख छ । श्रमिकले आफ्नो अधिकारको प्रयोग गर्न सकून्ः तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रमिकले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्यलाई परिणाममुखी बनाउन श्रमिकहरुको महत्वपूर्ण योगदान रहन्छ र यसबाट प्राप्त हुने उपलब्धिबाट पनि श्रमिक वर्ग प्रत्यक्ष लाभान्वित हुनुपर्दछ ।”
प्रतिक्रिया दिनुहोस्